कुनामा मात्र नबस्न पुनर्वासका ट्राफिक प्रहरीलाई आग्रह

-Hello Punarwas

बुधवार, २३ साउन 9:01 AM

ट्राफिक प्रहरीद्वारा सवारी चेकजाँचमा कडाइ

– हरिलाल जोशी
पुनर्वास, २३ साउन । 
कञ्चनुरको पुनर्वासमा ट्राफिक प्रहरीलाई कुनामा मात्र नबस्न सर्बसाधारणले आग्रह गरेका छन् ।
बजार क्षेत्रमा ट्राफिक प्रहरीले कहिले कसो मात्र चेक जाँच गर्न थालेपछि त्यहाँका सर्बसाधारणले यस्तो आग्रह गरेका हुन् ।
पुनर्वासको उच्च सवारी चाप भएका आई.बी.आर.डी. र प्रतिभानगर टाउँन क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी साधनहरु निर्वाधरूपमा गुडेको जनगुनासो आएपछि मंगलबार ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेका छन् ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट र इलाका प्रहरी कार्यालय त्रिभुनबस्तीको संयुक्त टोलीले पुनर्वासको बिभिन्न स्थानहरुमा सवारी चेकजाँचमा कडाइ गर्दै ट्राफिक सचेतना अभियानलाई आरम्भ गरेकाछन् ।
नियमलाई नियमन गर्ने जिम्मेवार निकायले नै ट्राफिक नियमलाई प्रभावकारी रुपमा नियमन नगर्दा नियम बिपरीत सवारी साधानहरु गुडाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको स्थानीय पवनकुमार विश्वकर्माले बताए ।
मोटरसाइकल प्रयोगकर्ताले बिना हेल्मेट नै प्रहरी प्रशासनको कार्यालय अगाडीबाट नै निर्वाधरुपमा क्षमताभन्दा बढि ३ देखि ४ जना सवार हुन थालेपछि आफ्नो अस्तित्व रक्षाको लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले सवारी चेकजाँजको अभियानलाई तीब्र पारिएको समाचार श्रोतले जनाएको छ ।
बिना हेल्मेट र क्षमता भन्दा बढी ३ देखि ४ जना एउटै मोटरसाइकलमा सवार हुनु पुनर्वासको लागि यो कुनै नयाँ नौलो दृश्य हैन । पुनर्वासमा बरिष्ठदेखि सर्बसाधारण समेत प्रहरीकै सामू बिना हेल्मेट सवार हुनुले स्थानीय प्रहरी प्रशासनको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
ट्राफिक प्रहरीले नियम कानूनलाई कडा रुपमा अवलम्बन गर्दै नियमित रुपमा सवारी चेकजाँच गर्ने हो भने ट्राफिक ब्यबस्थापनमा समस्या नरहने स्थानीय पूर्णप्रसाद पौडेलले बताए । पुनर्वासको आई.बी.आर.डी. मा बिगत १ महिनाको अन्तरालमा पनि ट्राफिक प्रहरीको उपस्थिति नहुदा यसरी ट्राफिक नियमको उलङ्घन गरी सवारी चलाउँनेको हौसला झनै थपिदै गएको उनले जिकिर गरे ।
बिना हेल्मेट, एउटै मोटरसाइकलमा ३ देखि ४ जना तीब्र गतिमा आई.बी.आर.डी.बजार र प्रतिभानगरको ब्यस्त र साँघुरो बाटोमा सवारी चलाएको दृश्यले हरकसैको ध्यान केन्द्रित गर्दछ । तर पुनर्वासका लागि खटिएका ट्राफिक प्रहरीहरुको ध्यान किन त त्यतातिर केन्द्रित हुँदैनन् त ? यतिखेर यो प्रश्न आम बन्दै गएको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा ट्राफिक ब्यबस्थापनको जिम्मेवारी पाएका अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीले जनशक्ति न्यून भएको कारण ट्राफिक ब्यबस्थापनमा कमी आएको स्वीकार गरेका छन् । कार्यक्षेत्र ठूलो र ट्राफिक एकजना मात्र भएको कारण ट्राफिक ब्यबस्थापनमा कमी आउँनु स्वभाविक भएको पोष्ट प्रमुख रमेश ऐरले बताए । ग्रामीण भेग र ट्राफिक जनचेतनाको अभावले पनि ट्राफिक ब्यबस्थापनमा समस्या आउँने भएकोले यस विषयमा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने र नियमितरुपमा सवारी चेकजाँज गर्ने ऐरले बताए ।
ट्राफिक नियम बिपरीत हर्कतहरु पुनर्वासको मुख्य बजार आई.बी.आर.डी. र प्रतिभानगर टाउँन बजारमा बढी देख्न सकिन्छ । यतिखेर पुनर्वास भरी नै लापरबाही तवरले ट्राफिक नियम उलंघन गर्ने को लाम नै लागेको छ तर उता नियमन गर्ने निकायले नियन्त्रणमा नलिदा दुर्घटना बढ्ने सम्भावना बढिरहेको स्थानीय बुद्धिजिबीको ठहर छ ।

थप सम्बन्धित समाचार
Follow
Us