रेशमका समकक्षीको टीकापुरबाट प्रधानमन्त्रीलाई चिठी

-Hello Punarwas

मङ्गलवार, १३ चैत्र 9:28 AM

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू,,

सर्वप्रथम त मुलुकको दुई तिहाइभन्दा अधिक मतले प्रधानमन्त्री हुनुभएकोमा बधाई छ । जीवनमा कसैसँग सुको नलिने र मुलुक कायापलट गर्ने तपाईंको मनोकाङ्क्षा पूरा होस् । तपाईंले देखाएको स्वाभिमानले मुलुकको शिर उँचो भएको हामी कहिल्यै बिर्सन सक्दैनौं र आगामी दिनमा समेत तपाईंको कार्य सदा सर्वदा जनताप्रति समर्पित रहोस् भन्ने कामना गर्न चाहन्छु ।केही दिनदेखि कैलाली टीकापुरको घटना फेरि चर्चामा आएको छ । यसको एउटै कारण हो– उक्त घटनामा मुख्य अभियुक्त भनेर मुछिएका रेशम चौधरी । मुलुकको वर्तमान गृहमन्त्री रामबहादुर थापा बादलले आमरण अनशन बसिरहेका सांसद रेशम चौधरीलाई जुस खुवाएर अनशन तोडाएपछि त झन् सामाजिक सञ्जाललगायत सबैजसो मिडियाका लागि मुख्य समाचार नै बनेको छ– टीकापुर घटना । व्यक्तिगत सामाजिक सञ्जाल त आफ्नै पेवा भइहाल्यो तर सबैको साझा सामाचारिक मनोकाङ्क्षा पूरा गर्ने केही दैनिक पत्रपत्रिकाले समेत सांसद रेशम चौधरीलाई खेदेको देख्दा अचम्म र आश्चर्य मात्रै लाग्दैन, लोकतान्त्रिक मुलुकमा सामन्ती शासनको दमनमा घिटघिटी बाँच्नुपरेको आभास पनि हुन्छ । प्रत्येक दिन सामाजिक सञ्जाललाई पच्छ्याउने हामीजस्ता युवाहरू अन्तरमनले क्रूद्ध तब हुन्छौं, जब राष्ट्रिय मिडियाले समेत यो घटनालाई बढावा दिइरहेको हुन्छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू !
म टीकापुरकै एक थारु युवा हुँ र रेशमको समकक्षीसमेत हुँ । पहिला रेशमको आलोचक हुँ र अहिले कट्टर समर्थक भएको छु । आलोचक उनको अभूतपूर्व क्षमताको आरिसले भएको थिएँ र आज समर्थक यसकारण भएको छु, रेशम चौधरीको विकल्प छैन । म जस्ता हजारौं थारु युवाको एक मात्र सपना र भविष्यको कल्पना नै रेशम हुन् । बाँकी कुरा पत्रका अक्षरले स्वयम् बुझाउलान् । अहिले आफ्नो सुरक्षाको कारणले पूरा नाम वतन खुलाउन सक्दैन तर यदि तपाईंले यो पत्र प्राप्त गरिसकेपछि मलाई पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नुहुन्छ भने नाम ठेगाना त के तपाईंलाई भेटेर टीकापुर घटनाको पूर्ण फेरिहस्त मात्रै होइन उक्त घटनामा एकोहोरो आरोप लगाइरहनेसँग प्रत्यक्ष प्रतिवाद गर्नसमेत तयार छु ।
सबैभन्दा पहिले म तपाईंलाई जानकारी गराउन चाहन्छु– रेशम चौधरी को हुन् ? मैले जानेको रेशम चौधरी त्यही व्यक्ति हुन्– जो स्कुले बखत ड्रम बजाएर सबै जिल्लाभरिका खेलाडीलाई मार्चपास गराउँथे, हरेक जिल्ला अञ्चलको कार्यक्रममा उत्साहका साथ कविता वादविवाद र साहित्यिक कार्यक्रममा भाग लिइरहेका हुन्थे । उनको क्षमता देखेर हरकोही आरिसले जल्दथे । हामी थारु युवा युवतीसमेत जल्दथ्यौँ भने अन्य समुदायका लागि त उनी आँखाको कसिङ्गर नै थिए । विद्यार्थी जीवनपश्चात उनी राजधानी काठमाडाँैतिर अध्यनका लागि लागे भने हामी यतै आसपासका धनगढी नेपालगन्जतिर छरियौँ । उनी काठमाडाँै गएको केही महिनामै चर्चामा आउन लागे । कहिले रेडियो नेपाल त कहिले टिभीमा उनका गीतहरू बज्न थाले । हामीले केही गर्न नसक्ने तर हामीसँगैको फुच्चेले देश हल्लाएको देख्दा रिसले मुर्मुरिने मात्रै होइन कुन मौका मिल्ला र रेशमलाई खसाउन सकिन्छ । त्यो हाम्रो मनमा समेत सदा लागिरहन्थ्यो तर हामी सदा मुर्मुरी रह्यौँ तर रेशम निरन्तर अगाडि बढिरहे ।
रेशम कुशल खेलाडी, पत्रकार, सङ्गीतकार, गायकलागायत बहुमुखी प्रतिभाका धनी त हुन नै त्यसैमा सबैभन्दा ठूलो उनको अभूतपूर्व क्षमता हो– उनको वाककला । उनले मञ्चमा भाषण गर्ने मौका पाए भने जस्तोसुकै वक्ता पनि उनको अगाडि फिका लाग्छन् । उनको यही क्षमताले राजनीतिककर्मीहरू उनका दुस्मन बनिरहेका थिए । मैले अघि नै उल्लेख गरिसकें प्रधानमन्त्रीज्यू ! जब हामी समकक्षी नै उनको क्षमताको दुस्मन बन्न सक्छौं भने सदा पदीय लोलुपतामा टाँसिनेहरू त झन् उनलाई पन्छाउनै चाहन्थे । हो रेशम चौधरी यसैका शिकार भएका हुन, साँच्चै टीकापुर घटनामा रेशम दोषी भने होइनन् ।
सम्माननीय प्रधानमन्त्री ज्यू !
रेशम चौधरीले के कमाए के गुमाए, त्यो सबकासामु छर्लङ्ग छ । द्वन्द्वकालमा समेत कमैयाका बस्ती बस्तीमा झुल, तन्ना, लत्ताकपडा, औषधि बाँड्ने व्यक्ति हुन् रेशम चौधरी । उनले हरेक कमैयाका घरमा पानी पिउने नल्का ठोकिदिए । कमैयाका बालबालिकालाई छात्रवृत्ति दिन्थे । लम्की टीकापुर सडक खण्डका लागि माटो प्रदान गर्ने व्यक्ति हुन् रेशम । उनले आफ्नै लागतमा टीकापुरका संस्थापक स्व. खड्कबहादुर सिंहको सालिक बनाइदिए, जुन टीकापुरको एक मात्र शान र पहिचान भएको छ ।
नेपाली नागरिकताविहीन कलाकार स्व. गोपाल भुटानीको सालिक बनाउने पनि उनै हुन् । टीकापुरमा कलाकार बाटिका बनाउने पनि उनै हुन् । प्रधानमन्त्रीज्यू, मैले किञ्चित पनि सङ्कोच नमानी भन्नुपर्दा टीकापुरबासीले तपाईंलाई देख्ने र तपाईंको दुईचार कुरा सुन्ने अवसरसमेत रेशम चौधरीले नै जुराइदिएका हुन् । रेशमको फूलबारी एफ.एम.को वार्षिकोत्सवमा तपाईंलाई प्रधानमन्त्री बन्ने आशिष दिने रेशम पत्नी रन्जिताको भाषण सुन्ने प्रत्येक्षदर्शीमध्ये एक म पनि हुँ । टीकापुरबासीलाई केहीभयो भने रेशमजीलाई भन्नुहोला म जस्तोसुकै सहयोग गर्न तयार छु भनेर पनि तपाईंको मुखबाट त्यही मञ्चमा सुनेको हुँ ।
संयोग आज तपाईं दुई दुई पटक प्रधानमन्त्री भइसक्नुभयो । त्यही रेशम चौधरी अन्यायमा परेर न्यायको भीख माग्दैछन्
तर अष्टमीको बोकाझैँ चौधरीको क्रन्दन कसैले सुनिरहेको छैन । केही परे रेशमजीलाई भन्नू भन्ने तपाईंको त्यो वचनको समेत आज टीकापुरप्रति सहानुभूति देखिएन ।
के रेशम चौधरी दोषी हुन् ?
सम्माननीय प्रधानमन्त्री ज्यू !
अखण्ड सुदूरपश्चिम र थरुहट प्रदेशका बारेमा केही वर्षदेखि चलेको राजनीतिक आन्दोलनका बारेमा तपाईं जानकार नहुने त कुरै भएन । थरुहटका पक्षबाट थारु बुद्धिजीवी र अखण्ड पक्षधरबाट विशेषतः पहाडी बुद्धिजीवी उक्त आन्दोलनमा सबैजना जानी नजानी सहभागी भएकै हुन् । प्रधानमन्त्रीज्यू, फरक यति मात्रै थियोे कि थारुहरूसँग केवल आफ्नो समूह थियोे भने अखण्ड पक्षधरसँग सिङ्गो राज्य थियोे । राज्यको थारु समुदायप्रतिको दमन कतिसम्म थियोे भने हरेकजसो थरुहटसभाको दिनमा थारुहरूको क्षति नभएको दिनै हुँदैनथ्यो । के प्रधानमन्त्रीज्यूलाई कैलालीको बौनियाँ बजारमा थारुहरूको करिब पाँच सयवटा साइकल एकै ठाउँमा जलाइएको खबर थाहा छैन र ? के धनगढी बजारमा थारुहरूको १७ वटा ट्याक्टरसहित करिब डेढ सय जना घाइते भएको खबरबाट अन्जान हुनुहुन्छ र ? २०७२ भाद्र ४ गते टीकापुर नजिकै तोरैयाँपुर भन्ने स्थानमा धनगढीबाट सद्भाव र्यालीका नाममा आएका जत्थाले सुरक्षाकर्मीको सहयोगमा थारुहरूको घरका छाना र करिब तीन दर्जन मोटरसाइकलमा गरेको तोडफोडबाट अन्जान हुनुहुन्छ र ? हो, यी सबै घटनामा भएको दमनबाट थारुहरूलाई राज्य हाम्रो होइन भन्ने अनुभूति भइसकेको थियोे ।
प्रधानमन्त्रीज्यू, मैले अघि नै उल्लेख गरिसकें रेशम चौधरीको सबैभन्दा ठूलो दुस्मन भनेकै उहाँको वाककला हो । उहाँ कैलालीको पाँचवटा क्षेत्रमध्येको एक नं. क्षेत्रको आन्दोलनको संयोजक पनि हो तर उहाँले गर्ने सार्वजनिक भाषण सबैका लागि उत्साहजनक र ज्ञानबद्र्धक पनि हुन्थ्यो । प्रायः मैले सबै उनको भाषण सुनेको छु र प्रधानमन्त्रीज्यूले पनि सुन्नसक्नुहुनेछ, जुन युट्युबमा उपलब्ध छ । तर उनले भाला बन्चरो प्रहार गरेर पहाडी समुदायलाई खेद्नुपर्छ भनेको मैले कतै सुनेको छैन । बरु त्यही टीकापुरको मञ्चमा (जहाँ मधेसी प्रमुख नेताहरू समेत थिए) राजेन्द्र महतो र उपेन्द्र यादवलाई सार्वजनिक रूपमा हप्काएको सुनेको छु । सामाजिक सञ्जालमा उनलाई जथाभावी आरोप लगाएको देख्दा झन मन उम्लिएर आउँछ । सोही कारण रेशमको प्रसंशकहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ । सामाजिक सञ्जालमा भुक्नेहरूले रेशमलाई कति चिनेका छन् कुन्नी तर यथार्थ नबुझिकनै त्यसरी अर्काको चरित्र हत्या र जीवन बर्बाद गर्नेलाई कस्तो र के सजाय हुन्छ यसको जवाफ पनि प्रधानमन्त्रीज्यूबाट अपेक्षा गरेको छु । समाचारको नाममा जथाभावी लेख्ने पत्रकारहरूलाई पनि चुनौती छ– कम्तीमा टीकापुरमा आई यथार्थ बुझी समाचार लेखिदिनुस । आजभोलि रेशमको समाचार पढ्दा लाग्छ नेपालका सबै चर्चित दैनिक पत्रिका हावा हुन् र आफूलाई नेपालको न्यायलय नै सम्झिन्छन् ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
भाद्र ४ गते रेशम आफ्नो जेठानको दिवङ्गतमा क्रिरियाघरमा काठमाडाँैमा थिए । तोरैयापुरमा भिडन्त भैरहँदा थारु समुदायलाई पछाडि हटाउने उनै हुन । त्यही बेलुकी बसेको थारु आन्दोलनकर्मीको मिटिङबाट रेशमलाई संयोजकबाट हटाउने निर्णय भएको थियोे । किनकि राज्यको दमनबाट थारुहरू दिनप्रतिदिन पीडित हुँदै गइरहेका थिएभने रेशम सद्भाव बिगार्नुहुन्न भन्नेमा हुन्थे ।
भाद्र ६ गते अचानक रेशम धनगढीको सर्वदलीय बैठकमा छन् भन्ने सुनियो । फेरि त्यही बेलुकी रेशम टीकापुरको सशस्त्र गणको बैठकमा छन् भन्ने पनि सुनियो । अरूले जेजस्तो आरोप लगाए पनि भाद्र ६ गतेसम्म रेशम र आन्दोलनकर्मी विपरीत ध्रुव भइसकेका थिए । भाद्र ६ गते बेलुकी उनले आफ्नै रिसोर्टमा बोलाएको बैठकमा कुनै थारु गएनन् ।
भाद्र ७ गते थरुहट पक्षले बीच बजारमा अवस्थित टीकापुर नगरपालिका कार्यालयमा थरुहट प्रदेश लेख्ने कार्यक्रम राखेको थियोे । बिहान ९ र १० बजेतिर रेशमले आज जुलुस नगर्ने दबाब दिँदैछन् भन्ने खबर आन्दोलनकर्मीलाई प्राप्त भयो । यो खबर सुनेर युवालगायत केही साथीहरू क्रुद्ध भए । आज आन्दोलनमा आए रेशमलाई पनि ठेगान लगाउनुपर्छ भन्नेको जमात ठूलै थियोे । आफ्नो केही नचल्ने देखेपछि रेशम बर्दियातिर लागेका हुन ।
सम्माननीय प्रधानमन्त्रीज्यू !
घटना कसरी भयो ? किन भयो ? यतापटि राज्यको ध्यान गएको जस्तो लाग्दैन । राज्य घटनाको निश्पक्ष छानविन गर्नेतर्फ उन्मुख देखिँदैन । राज्य र पत्रकारहरूको एउटै रटान छ– रेशम चौधरीले एसएसपी लक्ष्मण न्यौपानेको हत्या भाला रोपेर गरेका हुन् र दुई वर्षे बालकको निर्ममतापूर्वक गोली हानेर हत्या गरेका हुन् । प्रधानमन्त्रीज्यू, मैले तपाईंको मुखबाट बारम्बार सुशासनको कुरो सुन्दै आएको छु । केही चर्चित टिभी च्यानलले एक बालकको अन्तरवार्ता देखाउँछन् र हामी सबैलाई भ्रममा पार्न खोज्छन् । त्यहाँ देखाइएको हुन्छ– रेशमले मलाई मार भनेको हो अनि मैले मारेँ र रेशमले मलाई स्याबासी दिएँ । प्रधानमन्त्रीज्यू, ती बालकको बारेमा स्थानीयलाई सोधपुछ गर्दा थाहा पाइन्छ होला कि हिजोको दिनमा उनको स्वास्थ अवस्था कस्तो थियोे ? फिल्मका निर्देशकलाई त्यो भिडियो देखाएर एक पटक सोध्नुस्– कतै त्यो दृश्य मञ्चन त होइन ? हामी नेपाली जनता मात्रै मूर्ख छौँ कि मुलुक चलाउने तपाईं जस्ता राजनेता पनि मूर्ख छन् प्रधानमन्त्रीज्यू ? हामीलाई जवाफ चाहियो ।
आन्दोलनमा सहिद भएका बालकको बारेमा निस्पक्ष छानविन गर्नुस् त, बालकको हत्या गोलीले भयो कि लाठीले ? आन्दोलनमा खटिएका सुरक्षाकर्मीले चलाएको गोलीबाट कति घाइते भए ? सरकारसँग आँकडा छ ? टीकापुरमा आन्दोलन भैरहँदा जिल्ला प्रहरी प्रमुख कहाँ थिए ? स्वयम् घटनास्थलसँग अवस्थित टीकापुर इलाका प्रहरी प्रमुख कहाँ थिए ? किन अञ्चल प्रहरी प्रमुख स्वयम् डिउटीमा खटिएका थिए ? एसएसपी लक्ष्मण न्यौपाने किन सशस्त्रका सुरक्षाकर्मी लिएर आन्दोलन स्थलमा पुगे ? उनले दिएको आदेश सशस्त्रले किन पालना गरेन ? स्थानीय घुमुवा प्रहरीको रिपोर्ट किन एसएसपीसम्म पुगेन ? उनीसम्म पुग्नैपर्ने घुमुवा प्रहरीको रिपोर्ट कहाँ गएर पूर्णबिराम लाग्यो ? किन प्रहरी यो सब छानबिनबाट पन्छिन खोज्दैछ ? सरकारले आफै गठन गरेको छानबिन रिपोर्ट किन सार्वजनिक हुँदैन ? घटनास्थलमा लिइएका अन्तरवार्ताहरू मिडियाले किन प्रसारण गर्दैनन् ? स्थानीय पत्रकारहरूको रिपोर्ट किन छापिन्न, बजाइन्न र देखाइन्न ? किन प्रहरीको पीडित परिवारको पीडा मात्रै मिडियाले प्रसारण गर्छ ? भाद्र ८ गते थारुहरूको घरमा छानीछानी आगो लगाउनेहरू के राज्यबाटै सञ्चालित हुन् ? रेशम चौधरीको घर, होटेल र एफएममा आगो लगाइयो । लुटपाट गरियो र आज राज्यले उनैलाई डाँका चोरी मुद्दा लगाएर जेलमा थुनेको छ । अब भन्नुस प्रधानमन्त्रीज्यू, हाम्रो चित्त कहाँनेर बुझ्छ ?
घटनास्थलमै नभएको मान्छेलाई आरोपको भरमा जेलमा थुन्न पाइन्छ ? उहाँको अन्तिम टेलिफोन कल डिटेलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र मानव अधिकारकर्मी मोहना अन्सारीसँग भएको देखिन्छ, के उहाँहरूलाई छानबिन गर्न सकिँदैन ? प्रधानमन्त्रीज्यू, यो नभुल्नुहोला कि तपाईं केवल निश्चित वर्गको मात्रै प्रधानमन्त्री हो, तपाईं त थारु, पहाडी हामी सबै र सिङ्गो नेपालको प्रधानमन्त्री हो । तपाईंले सत्यतथ्यताका साथ निर्दोषलाई न्याय दिनैपर्छ, चाहे हजारौं गुनासा किन नहुन् । आज रेशम ३४,३४१ मतले सांसदमा चुनिएका छन् । उनी केवल थारुका मात्रै प्रतिनिधि होइनन सम्पूर्ण नेपाली जनताका जनप्रतिनिधि हुन । यो कुरा प्रधानमन्त्रीले बिर्सन मिल्दैन । स्वयम् प्रधानमन्त्रीको दल नेकपा एमालेकी उम्मेदवार गरिमा शाहभन्दा २१००० मतान्तरले विजयी भएका रेशम चौधरीलाई थारु भनेर पन्छाउन मिल्दैन । उनलाई समयमै न्याय नदिने हो भने अर्को चुनावको थरुहट क्षेत्रको सबै परिणाम रेशमको पोल्टामा नजाला भन्न सकिन्न । म स्वयम् राजपाको कार्यकर्ता होइन तर रेशम माथी भइरहेको विभेद र दमनका कारण उनलाई भोट हाल्न बाध्य भएको हुँ ।
कस्को मनोबल खस्दा राम्रो ?
सम्माननीय प्रधानमन्त्रीज्यू !
सामाजिक सञ्जाललगायत विभिन्न न्युज च्यानल मार्फत प्रहरीको मनोबल खसाउनु हुन्न र टीकापुर घटनाको दोषीलाई कारवाही गर्नैपर्छ भन्ने खबरले हामी पनि खुशी हुन्छौं । हो, साँच्चिकै प्रहरीको मनोबल खसाउनु पनि हुन्न र टीकापुरको घटनामा मान्छे मार्नेलाई पनि छोड्नुहुन्न । तर के प्रहरीको मनोबल खसाउनु हुन्न भन्दैमा टीकापुर घटनापछि थारुहरूको घरमा आगो लगाउने, लुटपाट गर्ने, चेलीबेटीमाथि यौनहिंसा गर्ने प्रहरीलाई पुरस्कार दिएर उन्मुक्ति दिनुपर्ने हो ? हरेक घर पसलमा आगो लाग्दा प्रहरीको उपस्थिति भिडियो र फोटोमा स्पष्टै देखिन्छ । स्वयम् रेशम चौधरीको रिसोर्टबाट विद्युत प्राधिकरणको गाडीमा सुरक्षाकर्मीले रक्सी ओसारेको भिडियो  छताछुल्ल छ । यस्ता सुरक्षाकर्मीलाई कारवाही गर्ने कि नगर्ने ? टीकापुर घटनाबाट केवल थारुहरूको मनोबल मात्रै खस्केको छैन, पहाडी समुदायको मनोबल पनि उत्तिकै खस्केको छ । आज टीकापुरमा ब्यापार छैन । उहिलेको जस्तो चहलपहल छैन, एकापसमा मेलमिलाप छैन । समुदायमा सद्भाव छैन । अब भनिदिनुस प्रधानमन्त्रीज्यू कसरी बन्छ मुलुक समृद्ध ?
टीकापुर घटनामा राज्य फसेको छ । भाद्र ७ गतेको घटनामा भएकालाई कारवाही गर्ने हो भने ८ गते लुटपाट गर्नेलाई पनि कारवाही गर्नैपर्ने हुन्छ । भाद्र ८ गतेको घटनालाई निश्पक्ष रूपमा छानबिन गर्दा कोहीकोही मन्त्री पर्लान, कोही सांसद पर्लान । कोही प्रहरीको परिवार पर्लान् त कोहीकोही तपाईंकै पार्टीको बरिष्ठ नेतासमेत पर्लान् । मैले भनिरहनु नपर्ला प्रधानमन्त्रीज्यू, टीकापुर घटनामा मुद्दा लागेकाहरू अहिले पनि माओवादी र एमालेको सदस्य भएर उन्मुक्ति पाएका छन् । एमाले र माओवादीको सदस्य बने जेल जानु नपर्ने, पक्राउ नहुने र अरू दलको हुनेबित्तिकै जेलनेल सबै भोग्नुपर्ने ? यही हो त हाम्रो सुशासन प्रधानमन्त्रीज्यु ?सुरक्षाकर्मी त राज्य र जनताको करबाट पोषित छन् तर जनता आफ्नो बाहुबलले कमाउँछन् र राज्यलाई करसमेत बुझाउँछन् । विडम्बनाको कुरो त तब लाग्छ जब जनताकै करबाट पोषित सुरक्षाकर्मीको मनोबल खस्किएको समाचार छापिन्छ । पत्रकार महोदयलाई त्यति पनि हेक्का छैन, जनताको मनोबल खस्कियो भने के हुन्छ ?
आज दिनप्रतिदिन शिक्षित जनताले मुलुक छोड्ने होडबाजी गर्दै गरेको प्रधानमन्त्रीज्यूलाई थाहै छ । कहिलेकाहीँ टीकापुरका थारुहरू अहिले एकआपसमा सल्लाह गरेर यो ठाउँ छोडेर बेलापरसुवातिर जाने कुरा सुनिन्छ ।बेलापरसुवा नजिकै भारतीय भूमिमा पर्छ । त्यहाँ थारुहरूको निकै घनाबस्ती छ । त्यसैले प्रधानमन्त्रीज्यू, कर्मचारीभन्दा नागरिकको मनोबललाई ध्यान दिनुस्, अनि मात्र मुलुकले शान्ति अनि समृद्धि प्राप्त गर्छ ।
के सुरक्षाकर्मीका परिवार मात्रै पीडित हुन् ?
सम्माननीय प्रधानमन्त्रीज्यू !
जबजब टीकापुरको घटना चर्चामा आउँछ तबतब पीडित प्रहरी परिवारका एक दुई जना सदस्यको भनाइलाई पीडामिश्रित बनाएर अतिरन्जित बनाउने कोसिस गरिन्छ । पीडित परिवारको पीडा हामी पनि बुझ्छौँ प्रधानमन्त्रीज्यू तर के प्रहरीका परिवार मात्रै पीडित हुन् ? बिनाकारण जेलमा थुनिएका परिवार पीडित होइनन् ? उनीहरूको पीडालाई मिडियाले कहिले स्थान दिएको छ ? के प्रधानमन्त्रीज्यूले उहाँहरूलाई पनि भेटेर कहिले सन्चो बिसन्चो सोध्नुभएको छ ? निर्दोष तर राज्यले पुर्पक्षका लागि भनेर कानुन विपरीत तीन वर्षदेखि कारागारमा रहेका परिवारका बालबच्चाहरू आज स्कुल नगई मजदुरी गर्न गएको खबर प्रधानमन्त्रीज्यूलाई थाहा छ कि छैन ? चैत १० गते नेपालगन्जको कानुन व्यावसायीहरूको एक कार्यक्रममा सम्मानित राष्ट्रपतिज्यूले समेत निर्दोषले न्याय पाउनुपर्छ र छिटोछरितो नै पाउनुपर्छ । ढिलो न्याय गर्नु पनि न्याय नपाउनु हो भनेर भन्नुभयो । म कानुन पढेको त होइन तर कानुन व्यावसायीका अनुसार कसैलाई पनि एक वर्षभन्दा बढी पुर्पक्षका लागि राख्न पाइन्न । तर टीकापुरको घटनामा मुछिएकाहरू विगत तीन वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् । यो कस्तो न्याय हो प्रधानमन्त्रीज्यू ? के कानुन कसैका लागि ऐन र कसैका लागि चैन हुन्छ ?
सम्माननीय प्रधानमन्त्रीज्यू !
रेशम चौधरी एक राष्ट्रवादी र सम्भावना बोकेका युवा हुन् । उनीबाट बालकको हत्या गर्ने, मान्छे मार्न उक्साउने हर्कत कदापि हुनसक्दैन । बरु उनी आफ्नो क्षमता प्रदर्शन गरेर दुस्मनी कमाएका हुन् । साँचो भन्नुपर्दा उनलाई थारु नेताहरूले नै फसाएका हुन् । भोलि सुदूर–पश्चिममा रेशमको वर्चस्व होला र हामी पाखा लागौँला भन्नेको समूह र सधैं थारुहरूलाई कमैया बनाइराख्ने थारु नेताबाटै उनी दलदलमा फसेका हुन् । यो कुरा जनताले बेलैमा बुझेर त्यस्ता थारु नेताहरूलाई तह पनि लगाएका छन् । मलाई रेशमका बारेमा बढी ब्याख्या गर्नु छैन तर प्रधानमन्त्रीज्यूलाई यति जरुर भन्नुछ, म उनको भोटर हुँ । म जस्ता ३४,३४१ जनाले उनलाई भोट हालेका छौँ । उनले प्राप्त गरेको सबै भोट थारुको मात्रै होइन, पहाडी समुदायको पनि हो । हामीले रेशमलाई टीकापुरमा शान्ति र सद्भाव कायम होस्, राज्यले रेशम निर्दोष छ भनी बुझोस भनेर भोट हाल्यौँ । टीकापुरवासी थारु पहाडी सबैलाई थाहा छ– रेशम नभए सद्भावको कल्पनासमेत गर्न सकिन्न । नचिनेको नजानेको कोही पोखराबाट, कोही झापाबाट भन्दै सामाजिक सञ्जालमा तुष नपोखौँ । सत्यतथ्य यथार्थ रिपोर्टिङका लागि पत्रकारहरू घटनास्थलमा आउनुस् र निस्पक्ष भई कलम चलाउनुहोस् ।
अन्त्यमा,
सम्माननीय प्रधानमन्त्रीज्यू
कसैको भावनामा नबहकिनुस, सत्यतथ्य घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नुस् र निर्दोषलाई उन्मुक्ति दिनुस । तपाईंभित्र जुन राष्ट्रियताको भावना छ, सायद रेशम चौधरीको मनोभावना पनि उत्तिकै छ भन्ने मलाई लाग्दछ । कसैले तपाईंको अगाडि भिजेको परेली देखाउँदैमा अर्काको मुटुमा पनि छुरा नधसाइ हाल्नुस् । लोकतन्त्रमा जनमतको कदर गर्नुस र रेशम चौधरीलाई ससम्मान शपथ खुवाई संसद भवनमा प्रवेश गराउनुस । जुन दिन न्यायालयले फैसला गर्छ त्यो दिन हामी पनि निस्पक्ष अदालतको फैसलालाई स्वीकार गर्नेछौं र हाम्रो भावनालाई बुझी टीकापुरलाई जनप्रतिनिधिविहीन नबनाउन हुन प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु ।
जय थरुहट
(यो चित्रबहादुर चौधरीको निजि विचार हो ।)
थप सम्बन्धित समाचार
Follow
Us