बेलौरीको गोकुलपुर खुकुरी काण्ड : दोेषी उपर कानूनी कारबाहीको माग

-Hello Punarwas

मङ्गलवार, ७ कार्तिक 11:13 PM

गोकुलपुर घट्ना हुनुमा प्रहरी प्रशासनको ढिलासुस्ती     

स्थानीय प्रहरी प्रमुखहरुको सरुवाको माग

हेल्लो समाचारदाता
बेलौरी, ७ कात्तिक   । 
कञ्चनपुरको बेलौरी नगरपालिका गोकुलपुरमा केही युवाहरुमाथि भएको निर्घात खुकुरी काण्डका दोषी उपर कानूनी कारबाहीको माग गरिएको छ ।
सोमबार पनि घाईतेका आफन्त एवं स्थानीयले बेलौरी र गोकुलपुर बजार बन्द गराएका छन् । पीडितले घटना घटेको लामो समय बितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ नगरेको आरोप लगाउदै बजार बन्द गराएका हुन् ।
साथै पीडितको आक्रोशित भिडले प्रहरी र दोषी उपर नाराबाजी गर्दै इलाका प्रहरी कार्यलय घेराउ गरी टायर जलाई बिरोध प्रदर्शन गरेका थिए । घाइते सुरेश खड्काका आफन्त एवं बेलौरीका स्थानीय युवा रामु खड्काले युवकहरुमाथि खुकुरी प्रहार गर्नेलाई कानूनी कारबाहीको माग राख्दै बजार बन्द गरिएको बताएका छन् । कारबाहीको माग राख्दै इलाका प्रहरी कार्यालय बेलौरी पुगेका स्थानीयले बेलौरी बजार समेत पूर्णरुपमा बन्द गराएका थिए ।
“सत्य सेवा सुरक्षणम्” लाई आत्मसात गर्ने नेपाल प्रहरीलाई घटना घट्न सक्ने पूर्ब जानकारी दिंदा समेत घटनालाई रोक्न ढिलाई गरेको गोकुलपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष बिरु शाहीले बताए । अपराध अनुसन्धानमा दक्ष कहलिएका नेपाल प्रहरीले जनताको जनभावनासँग खेलवाड गरेको अध्यक्ष शाहीले दुखेसो पोखेका छन् ।
पुल हाउस र कटेजमा भाइटिकाको राती सुरेश खड्का, सुरेन्द्र शाही, पुष्प कुँवर, सुदिप खड्का लगायत दर्जनौँ युवाहरुमाथी खुकुरी प्रहार गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले जनाएका छन् । खुकुरी प्रहारबाट सुरेश खड्का शक्त घाईते छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाण्डौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक छ । अन्य गम्भीर घाइते सुरेन्द्र शाही र पुष्प कुँवरको कोहलपुरमा उपचार जारी छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनामा संलग्न समूहका प्रह्लाद रानालाई पक्राउ गरि अनुसन्धान थालिएको जनाएको छ ।
यसैबीच सोमबार साझ अबेरसम्म बेलौरी नगरपालिका कार्यालयमा बसेको सर्वपक्षिय सर्वदलीय बैठकले विभिन्न निर्णय समेत गरेको छ । गोकुलपुर घटनामा परी घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरिएको छ ।
यसैगरी गोकुलपुर घट्नमा प्रहरी प्रशासनको ढिलासुस्ती कमी कमजोरी देखिएकाले सुरक्षा निकायलाई चुस्तदुरुस्त राख्न टेडुवा प्रहरी चौकीका प्रमुख, फटिया प्रहरी चौकीका प्रमुख र इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुखको सरुवाको माग गरी सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्न सम्बन्धित निकायमा माग गर्ने समेत सर्वपक्षिय सर्वदलिय बैठकले निर्णय गरेको छ ।
त्यस्तै, सामाजिक सद्भाव र भाइचाराको व्यवहार कायम राख्न र सामाजिक सद्भाव बिग्रन नदिन जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवि, सुरक्षा निकाय, उद्योगी व्यापारी, पत्रकार एवं सबैलाई अपिल गरिएको छ । पछिल्लो समयमा मदिराका कारण यस्ता घटनाले प्रश्रय पाइराखेका कारण बेलौरी नगरपालिका भित्र रहेका सबै होटेल, कटेज र मदिरा व्यवसायी र सरोकारवालाहरुसंग समन्वयात्मक बैठक बसी समयसीमा निर्धारण गर्ने विषयमा समेत छलफल भएको छ ।
मदिरा र लागूऔषधको प्रयोग गरी चोक–चोकमा बसी हल्ला गर्ने, तथानाम गाली गर्ने, एउटै मोटरसाइकल मोटरसाईकलमा चार जना सवारहुनेलाईसमेत प्रहरीले नजर अन्दाज गर्दै आएको प्रत्यक्षदर्शी बताउँछन् । यसरी नियमन गर्ने निकायले नजरअन्दाज गरिदिंदा समाजमा हिंसा, अशान्ति र त्रासको बाताबरण सृजना भइरहेको स्थानीय बुद्धिजिबीको ठहर छ ।

थप सम्बन्धित समाचार
Follow
Us