गोविन्द गौतमलाई लागेको गोली भारतीय एसएसबी कै भएको फरेन्सिक रिपोर्टले देखायो

-Hello Punarwas

शुक्रवार, ४ चैत्र 12:46 AM

घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड

रञ्जित लामा
पुनर्वास, ३ चैत÷
कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित आनन्द बजारमा मारिएको गोविन्द गौतमलाई लागेको गोली भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै भएको नेपाल प्रहरीको फरेन्सिक रिपोर्टले देखाएको छ ।
गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीको ल्याबबाट गरिएको परीक्षणमा गौतमलाई लागेको गोली एसएसबीकै भएको पुष्टि भएको छ ।
सो रिपोर्टलाई गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत काठमाडौं स्थित भारतीय दूताबासलाई बुझाएको हो ।
गत बिहीबार आनन्द बजारमा भएको दोहोरो झडपमा एसएसबीले चलाएको गोली लागेर गौतमको मृत्यु भएको थियो ।
गृह मन्त्रालयको श्रोतका अनुसार गौतमलाई लागेको गोली नेपालका कुनै पनि सुरक्षा निकायमा लाग्ने हातहतियारमा प्रयोग नहुने भएकोले सो गोली एसएसबीले हानेको ठहरसहितको रिपोर्ट भारतीय दूताबासलाई बुझाएको छ ।
“जङ्गलमा बाघ कराउनु र गोठको बाख्रा हराउनु” भनेझै गौतमको ज्यान गएकै दिन प्रहरी सहायक निरीक्षक माधव भट्टको ७ राउण्ड गोली सहित लोडेड पेस्तोल हराएको घटनाले गौतमलाई लागेको गोली नेपाल प्रहरीकै हुनसक्ने बिभिन्न मिडियाहरुले आशंका गरिरहेको बेला नेपाल प्रहरीको यो फरेन्सिक रिपोर्टले आशंकालाई गलत सावित गरिदिएको छ ।
सुरक्षा संयन्त्रमा हात हतियार हराउनु निकै सम्बेदनशील र गम्भीर मानिए पनि कञ्चनपुर प्रहरीले हतियार हराएको घटनालाई लुकाउन खाज्नुले पुनर्वास गोली काण्डलाई थप आश्चार्य र रहस्यमयी बनाएको थियो ।
पुनर्वास गोली काण्डकै दिन नेपाल प्रहरीको लोडेड पेस्तोल हराउनु र भारतले आफूहरुबाट गोली चलेको घटनालाई बारम्बार अस्वीकार गर्दै भारतीय विदेश मन्त्रालयले मृतक गौतमको पोस्टमार्टम रिपोर्ट माग्नुले घटनालाई थप रहस्यमयी बनाएको थियो, तर गौतमको पोष्टमार्टम र फरेसिन्क रिपोर्ट अनुसार गौतमको मृत्यु भारतीय सुरक्षाकर्मीबाटै भएको पुष्टि भएपछि अहिले सो घटनाको रहस्य उद्घाटन भएको छ । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतीय गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुश्मा स्वराजसँग भएको छुट्टा–छुट्टै भेटमा कञ्चनपुरको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर नेपाली नागरिकको मृृत्यु भएको घटनाबारे ध्यानाकर्षण गराउदै घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

थप सम्बन्धित समाचार
Follow
Us