शाहीद हुनु रहर होइन देशको माया र चिन्तन हो ।– शहीद परिवार शर्मा

-Hello Punarwas

शुक्रवार, २० फाल्गुण 5:04 PM

दशांै हजारले बालिदान दिएको नेपाल देशको भुमि यो मातृभूमिमा हजारौं वीरबीरंगनाका गाथाहरु नसुनिएका होइनन् । देश र मातृभुमिका लागि आफ्ना प्राणसमेत आहुति दिने त्यस्ता शहीद मध्येहरुबाट पुनर्वास नगरपालिका–१३, मोतिबस्तीको एक कुनामा बसिरहेकी एक पत्नी अनि आमा जो पति र छोराको शहादत पश्चात पनि समाजको असंख्य पीडाबाट आफूलाई भुलाउदै उनै शाहीदहरुको सपना साकार भएको देख्न चाहने त्यो अदम्य साहस बोकेर आफ्ना दिनहरु बिताईरहेकी ती शहीद परिवारकी एक साहसी नारी हुन खिमादेबी शर्मा । जसको पति पुष्कार शर्मा अनि कान्छा छोरा हेमराज शर्मा देशका लागि आफ्नो विरता देखाउदै शहादत प्राप्त गरे । शहीद पुष्कर शर्मा २००८ साल असार ९ गते यो मातृ भुमिमा अवतरित भई देश र राष्ट्रका लागि २०६० साल जेष्ठ महिनामा देहवसान हुनु भयो । त्यस्तै वहाँकै छोरा शहीद हेमराज शर्मा २०३८ साल जेष्ठ १५ मा जन्मिनु भई २० बर्षको कलिलो उमेरमा २०६० असोज ३ मा शहादत प्राप्त गर्नु भएको थियो । शिक्षक पेशमा आबद्ध रहनु भएका उहाँको ३०÷३५ वर्षको कार्यकाल शिक्षण पेशा बित्दै जाँदा आफ्नो जन्मभूमि जाजरकोटबाट बसाईसरी पुनर्वासको मोतिबस्तीमा स्थापित हुनु भयो । करिब ६ बर्ष लामो जेलसाजयपछि डडेल्धुरा पातलसे भन्ने ठाउँमा वहाँको मृत्यू बरण भएको थियो । र त्यसको केही महिना पश्चात नै वहाँकै कान्छा छोरा हेमराज शर्माको पनि कञ्चनपुरको महेन्द्रनगरमा एका–एक मृत्यू बरण भएको थियोे । एउटी मातृभूमिकै अटल आमा अनि अदम्य साहस बोकेकी शहीद पुष्कर शर्माकी धर्मपत्नी खिमादेवी शर्मासँग हेल्लो पुनर्वासका सम्वाददाता कुलप्रसाद धितालले गर्नुभएको संक्षिप्त कुराकानीः

–सर्वप्रथम यहाँलाई ‘हेल्लो पुनर्वासको’ तर्फबाट हार्दिक स्वागत तथा नमन गर्न चाहन्छौ. । शहीद परिवारको रुपमा चिनिनु भएको छ । आजभोलि के गदै हुनुहुन्छ ?
उत्तर ः के गर्नु ‘घरको काम’ नाति–नातिनाहरुसँग भुलेर यातना र पीडाहरुको बिचमा रुमालिएर बसिरहेको छुु । उच्च रक्तचापको कारण अनि परिवारिक सुरतापले पिल्सिएर विगतका दिनलाई विर्सन खोज्दै आफ्ना पति र छोराको शून्यतामा ती अबोध नाति–नातिनीको साथ बाँकी १ छोरा र १ छोरीको सहारामा आफूलाई विर्साइरहेकी छु ।

– देशका लागि आफ्नो प्राण आहुति दिनुभएका बीरर शहीदहरुको बिरता आफ्नै परिवारमा देख्दा पनि दुःखी देखिनु हुन्छ नि ?
दुःखी म हुँला किनकी कसैले आफ्नो परिवार गुमाउँदा अनि तिनीहरुको परिवारको सम्झनाले मुटु चुडिएर आउँछ । एक्लै रुन्छु , बर्बराउँछु तर हार मान्दिन । आखिर मैले देश र जनताको लागि आफुले आफुलाई बलि चढाउने अनि र यस मातृभुमिका लागि मृत्यूबरण गर्ने बाहादुर छोरा जन्माएको रहेछु । पीडा नै पीडामा रहेर पनि देशका लगि बहादुर योद्वा अनि अजय पति जो कसैले प्राप्त गर्न सक्दैनन् र बीर छोरा सबैले जन्मउंदैनन् । म त एक भाग्यमानी पत्नी र आमा रहेछु जसको उदाहरण मैले धेरै शहीद परिवारबाट देखेको छु । गर्व गर्छु म किनकि देशको भविष्य अनि मुहार फेर्न शहीद भएका ती दुई आत्माहरु मेरो मात्रै नभई देशका योद्धा रहेछन् नि त । म त एक नारी न हँु । हजारौ नारीहरु अनि लाखांै जनताका लागि जन्मिएका सपूतहरुको बलिदान म दुःखी भएर लुकाउन चाहन्न ।

– “हुदैन विहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपूत मरेर नगए” भन्ने अगाध स्नेह बोकेर शहीद हुनुभएका आफ्ना परिवारका सदस्यहरुको बारेमा केही भन्न चाहनु हुन्छ ?
– म¥यो ज्युदै त्यो जसले बिस्र्यो देशको माटो, देश र जनताको लागि आफ्नो जीवन कुर्वान गर्ने योद्धाहरुलाई ‘म कोटीकोटी प्रणाम गर्न चाहन्छु । हरेक दिनको सुरुवात विहानीले देखाउँदो रहेछ । माटो छ यो शरीर मरेर लानु केही छैन । केही गर्नु छ, समाज अनि राष्ट्रको लागि भन्ने वहाँहरुका बचनहरु सदा सर्बदा मेरो मस्तिष्कमा घुमिरहन्छ । जाग लम्क, चम्क हे ! नौ जवान हो….. भन्ने गुन्जायमान ध्वनि मेरो कानमा गुञ्जिरहेको छ । मेरेपछि पनि हजार मलामी हुन भन्ने वहाँहरुको सोंच र विचारहरु सदैव मेरो मष्तिकमा घुमिरहेको होस् म यही चाहन्छु ।

– “देशले हामीलाई के दियो होइन हामीले देशलाई के दियौ त ” ? भन्ने महावाणीहरु आत्मासात गर्ने वहाँहरुको बलिदान फलित भएकै हो त ?
जन्मिन त लाखौ मानिस जन्मेकै छन्् तर के तिनीहरुको सम्झना अनि इतिहास बनेको होला र ? आखिर हरेक प्राणीले आफूजस्तै प्राण जन्माउँछ तर सबै प्राणमा बलिदान दिने हिम्मत होला त ? मातृभुमिको लागि प्राण त्याग गर्नसम्म पछि नपर्ने ती महान् योद्धाहरुलाई झुकेर नमन गरिएको मैले देखिरहेको छु । बलिदान सफल भएको छ । केही पाषण हृदय हुेने धनटाउकेहरुले नसम्झदैमा हाम्रो वलिदान खेर गएको मिल्दैन । सफल नगराइन चलखेल गरिदो रहेछ तर लाखौैं मष्तिस्कहरले ती शहीदहरुप्रति देखाएको आस्थाबाट म बुझ्दछु वहाँहरुको बालिदान सफल भएको छ ।

– नेपाल आमाले हजारौं कुपुत्र जन्माउदै गर्दा हजुरको घरमा बीर ओजस्वीहरु उदयमान भएका रहेछन् जस्तो लाग्दैन तपाईलाई ?
म एक आमा हुँ एक नारी हुँ । भाणाका टटुहरुबाट उच्च ओहदाका लागि वहाँहरुलाई वलि चढाइयो । मैले सामान्य श्रीमान् र छोरा पाएको होइन यदि त्यसो हँुदो हो त श्रीमान् मसँगै घर–गृहस्थीमै किन रमाउन चाहनु भएन अनि छोरा किन आमाको मातृवात्सल्यमा लुटपुटिएन ? कारण सानो होइन । देशमा परिवर्तन र आमूल शान्ति अमनचयन स्थापित गराउन वहाँहरुको अहम भूमिका रहको छ । म गर्व गर्छु आखिर म पनि त नेपाल आमाकी छोरी हँु । कहिल्यै नझुक्ने नेपालको छोरा भनेको शब्द मेरो कानमा घुमिरहेको छ ।
– “म मरे पनि मेरो देश बाँचिरहोस” भन्ने वीर पुरुषहरुका वीरगाथा अर्थात वहाँहरुमा देखिएको यो वास्ताविकता लागि विगतमा पनि केही महशुस गर्नु भयो ?
छोराले भन्थ्यो “आमा तपाई पीर नगर्नु एकदिन तपाइको यो छोराले कर्तव्य पक्कै निर्वाह गर्ने छ । तपाईको नाम उच्च पार्ने छ । तपाईले गर्वले भन्नु हुनेछ म यसको आमा हँु भनेर ।” पतिले भन्नुहुन्थ्यो “हे प्राणप्यारी तिमी र हामी मात्र जिएर हुन्छ त ऊ हेर त ती हजारांै झुप्राका दुःखीहरु रोइरहका चिच्याइरहेका आर्तनादका घाउँहरु हामीले नै भर्नु छ । ” भन्नु हुन्थ्यो । दुवैको विचार देशका लागि रहेछ ।

–‘देशले रगत मागे मलाई वलि चढाऊ’ ‘रुदिनन मेरी आमा हुनी हुन नेपालकी छोरी’ यी पंक्तिहरु गुञ्जाएमान गर्दै शाहीदहरु भएका आत्माहरुप्रति सम्मान गर्ने आधारहर के–के छन् जस्तो लाग्छ तपाईलाई ?

यहाँँहरुलाई यदि सम्मान नै गर्ने हो भने किन चिल्ला चिल्ला कारमा शीशा ढाकेरा हिडनु प¥यो । सम्मान गर्ने हातहरु अनि मस्तिष्कहरुलाई खोजी गरिएको होस् । नेपाल र नेपालीको पहिचान जोगाउने आत्माहरुको विचारलाई सम्मान गरेर देशमा परिवर्तन गरिएको होस् । रगतको खोलो वगेको अनि हिजोका ती गन्हाएका इतिहासलाई फेरि पनि दोहो¥याउने प्रयास नगरियोस् । नाम र दामका लागि कसैको बलिदान नगरिएको होस् । मातृभूमि र देशभक्तिको भावना हरेक नेपालीको मनमा जागृत गरिएको होस् । तेरो, मेरो जस्तो फोहोरी भावना परिवर्तन गरिएको होस् । हरेक बालकको मुखमा परिवर्तनको मुहारको ढोका खोलिएको होस् र यही मेरो कामना छ ।

 –सरकारी निकायले शहीद परिवारहरुप्रति कस्तो किसिमको व्यवहार देखाएको पाउनु भएको छ ?
सहयोग पाउनु त कता हो कता तिनीहरुले दुश्मन जन्माएका छौ । आफ्नो गतिलो परिवार भत्काएका छौ । परिवार तहस–नहस पारेका छौ । पार्टी संघतिर आबद्ध नभई खुरुखुरु आफ्नो काम गरेको भए आनन्दले जिउन पाउने थियो भन्ने जास्ता जुन वाणीहरु सरकारी तवरबाट आइरहन्छ । केही कुकुरहरु आउछन् र भनि रहन्छन् । तर उनीहरको सहयोग नपाउदैमा म खान नपाई मार्दिन । शाहीद हुनु रहर होइन देशको माया र चिन्तन हो । यो सरकारी संयन्त्र खोक्रो आडम्बर मात्र हो । खोइ ! कहाँ छ सरकार ? दरिद्रहरुको खोल ओढेकाहरु शहीदको पवित्र चित्त कसरी बुझलान् ? मासु लुछ्न अनि भट्टीमा जान पल्केकाहरुबाट के व्यवहार पाइएला र ?

–समाजमा संकुचित सोच अनि लुब्ध भावना विकासित हुदै जाँदा देशका लागि भन्दा आफ्ना लागि मात्र सोच्ने अनि अकुत सम्पत्ति कमाउनेका विचमा सुन्दर स्फटिकका खाम्वाहरुबाट कोहिनुरहरु हजुरको घरमा उदयमान भएर शहीद हुँदा पीडाहरु सबै बिर्सने कोशिस कसरी गर्नुभएको छ ?
कुकुर विराला झै मरिरहेका पनि छन् धेरै कुपुत्रहरु जो जन्मेर पनि पृथ्वीको भार भइ नै रहन्छन् । मैलै साँच्चै यस्ता सारथीहरु पाएकोमा म गर्व नगरी बस्न सक्दिन । कता कति भनिदो होला र भनिएको पनि सुनें मैले । यो त कसती अचम्मकी मान्छे हो अर्का अरु छोरा अनि सन्तान पनि मार्न चाहने हो की क्या हो भनेर । दुई जना त शाहीद भैसके अरुलाई पनि शहीद बनाउने चाहना पो रै छ त भन्दा मुटुमा गाठो पर्दैन मलाई । छाति ठोेकेर भन्छु, म जस्तो भग्यामनी आमा र पत्नी हुन विरलै पाइएला । अखिर तपाईहरु जस्तो पत्रकार अनि देशका सेवक अनि जनताहरुले त मलाई बुझेका छन नि । हो म बिचलित हुदिन किन की राम्रोलाई नराम्रो र नराम्रो लाई राम्रो भन्ने विचार केही कुपुत्रहरुले फैलाइरहेको हँुदा त्यो छाप अरुमा पर्न गएको हो । म पीडा बिर्सने काशिस गरिरहेकै हुन्छु किनकी मलाई त्यो गुञ्जयमान स्वर “गाउँ–गाउँबाट उठ बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ” दुई ताराहरु ।
– “बीर शाहीदहरु अमर रहुन्” भन्दै जाँदा जादै अन्तमा शहीदका बारेमा भावी पिढी अनि समाजलाई के सन्देश दिन चाहनुहून्छ ?
बुझ ! हे नेपाली बुझ ! मुर्खतालाई छाडेर ज्ञानीपनलाई अँगाल ! देशलाई उभो लगाउन मृत्यु नै वरण गर्नुपर्छ भन्ने छैन । भोलि कतै “नेपाली हामी रहुला कहाँ नेपाली नरहे” भन्ने धुन सुन्न नपरेको होस् । अखिर देशका लागि हजारौैं मेरो परिवार जस्तैले बलिदान दिए । त्यो बलिदान खेर नगएको होस् । हामीलाई गिल्ला गरिएको भान अनि शहीद परिवारलाई समाजले उपेक्षा नगरेको होस् । बालकदेखि वृद्धसम्मका बीचमा एकता भएको होस् । देशका सम्पूर्ण शाहीदहरुको बलिदान फोटोमा सीमित गरेर मात्र छोडिएको नहोस् । शाहीद दिवस भन्दै गर्दा फूल माला चढाएर शहीद दिवसको अपमान नगरिएको होस् । नत्र त शहीदहहरुको आँशुले के प्रगति होला र ? मलाई मेरो देश प्राणभन्दा प्यारो लाग्छ भन्ने भावना पहिले प्रथम त नेताहरुको खोपडीमा जगाइएको होस यही भन्न चाहन्छु ।

थप सम्बन्धित समाचार
Follow
Us