‘विद्यार्थीले राजनीति क्याम्पसमा नसिकेर कहाँ सिक्ने त ?’– क्याम्पस प्रमुख बुढा

-Hello Punarwas

शुक्रवार, २० फाल्गुण 5:31 PM

बझाङ जिल्लाको दक्षिणी भेगमा मिति २०१३ साल जेठ २ गते पिता मानबहादुर बुढा र माता चन्द्रकला बुढाको कोखबाट जन्मनु भएको कर्णबहादुर बुढा जो हाल पुनर्वास जनता बहुमुखी क्याम्पस प्रमुखको पदमा आसिन हुनुहुन्छ । २०२८ सालमा बझाङवाट स्थानतरण भइ रामपुर–विलासीपुर गा.वि.स., वडा नं. ३ मा स्थापित भएपछि वि.सं. २०३५ देखि २०३७ सालसम्म बेलौरी, वि.सं. २०३७ देखि २०४२ सालसम्म कलकत्ता उ.मा.वि.र २०४२ सालदेखि २०६१ साल बैशाख ११ गतेसम्म पुनर्वास जनता उ.मा.वि.मा शिक्षक पेशामा आबद्ध रहनु भएको थियो । तीन दशक लामो शैक्षिक यात्रा पार गरिसकेका पुनर्वासका अर्का एक शिक्षण पेशाका हस्ती कर्णबहादुर बुढाको जीवन र जगतको भोगाईलाई चिराफार गर्दै वहाँकै कान्ति आमुखमा रहेर हेल्लो पुर्नवासका सम्वाददाता कुलप्रसाद धितालसँग गरिएको संक्षिप्त कुराकानी ः

–“ हेल्लो पुनर्वास ” साप्ताहिकबाट यहाँलाई हार्दिक स्वागत छ । आज भोलिका दिनहरु कसरी बिताईरहनु भएको छ ?

धन्यवाद ! अधिकांश समय क्याम्पस पढाएर नै बितेको छ । फुसर्दका समयमा क्याम्पसकै लागि समय खर्चिरहेको छु ।

– यस जनता बहुमुखी क्याम्पसको गरिमामय पद क्याम्पस प्रमुख आफुलाई पाउँदा के अनुभव गर्नु भएको छ ?

वि.सं. २०५८ सालबाट मलाई क्याम्पस प्रमुख पदमा मनोनयन गरियो । क्याम्पसको स्थापना कालदेखि नै मैले भरपुर मेहनत गरेको छु । यस अगाडि म निमित्त प्रमुख भएको बेला शिक्षाप्रेमी, शिक्षकबर्ग, शुभचिन्तकहरुको भेलाद्वारा क्याम्पस स्थापना गर्नका लागि तदर्थ समितिको गठन गरियो, त्यसपछि क्याम्पस खोल्ने प्रक्रिया अगाडि बढ्यो । यसमा शिक्षाप्रेमी सम्पूर्ण साथीहरुबाट साथ मिलेकै कारण क्याम्पस सञ्चालन गर्न पाउदा खुसी लागेको छ । +२ पढेका विद्यार्थीहरुका लागि धनगढी, महेन्द्रनगर, काठमाडौं जस्ता ठाउँमा नै पुग्नु नपर्ने अवस्था सिर्जित भयो । तत्कालीन समयको टड्कारो आवश्यकतालाई आफुले पूर्णता दिदै यस्को प्रार्दूभभाव र प्रारम्भ आफू स्वयंले नै गर्न पाएकोमा आफूलाई सगर्ब निकै खुशी लागेको अनुभब हुन्छ ।

– यस क्याम्सका लागि के –के गर्नु भयो र आगामी योजनामा के –के गर्ने लक्ष्य लिनु भएको छ त ?
हाईस्कुलबाट रिटायर्ड भएको केही समय बितेको छ । क्याम्पसका लागि सर्वप्रथम त भवनको आवश्यकतामा व्यापकता रहेकाले त्यसैतर्फ कामहरु सञ्चालन गरिरहेको छु । करिव २५ लाखको अनुदान विश्वविद्यालयबाट प्राप्त भए अनुरुप क्याम्पस भवनहरु बनिसकेका छन् । केही भवनहरुको निर्माण प्रक्रिया द्रततर गतिमा अगाडि बढिरहेको छ । शान्ति तथा पुननिर्माण मन्त्रालयबाट ३० लाख रुपैयाँ सहयोग हुदैछ । थप तलाहरु थपेर क्याम्पसलाई हाईस्कुलसँग नमागीकन अलग्गै सञ्चालन गर्नका लागि आवश्यक पहल गरिरहेको छु ।
क्याम्पसलाई अलग्गै सञ्चालन गरेर निकट भविष्यमा नै पोष्ट ग्राजुयटका कक्षाहरु सञ्चालन गर्नका लागि आवश्यक पहल गर्दै यो प्रक्रिया पूरा गर्न लागिरहेको छु ।

– सुदुरपश्चिमको सुदुर बिकटमा अवस्थित यो क्याम्पस पनि सुदुर नै छ, अर्थात नाम मात्रैको क्याम्पस पो हो त भन्ने जनबोलीलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
पुुनर्वासकै दक्षिण वेल्टमा पुनर्वासमै पहिलो स्थापित क्याम्पस हो यो । बेलौरीमा प्रवीणता–तह पहिले खुलेको थियो तर स्नातक तहमा अगाडि यही पुनर्वास जनता क्याम्पस नभएको होइन । र पनि एक त हाइस्कुलमै सञ्चालन भएको क्यापस छ भन्ने मान्यता र आवश्यक पुर्वाधार पहिल्यै छ भन्ने कटुतापूर्ण साेंचले साथमा मास्टरहरु पनि धेरै हुन भन्ने गलत व्याख्याले गर्दा क्याम्पस सुदुरपश्चिमको सुदुर जस्तै बन्न गयो । क्याम्पसको व्यवस्था हाईस्कुलसँग दौडने प्रवृत्ति र क्याम्पसको अवस्था अलग्गै हुन्छ भन्ने थाहा नहुनेले पनि धेरै अभिभावकलाई गाँजिरह्यो । गा.वि.स. ले पनि बजेट छुट्याउदा हाईस्कुललाई मात्र छुट्याउने तर क्याम्पसलाई नछुट्याउने अर्थात हाईस्कुलको बजेटले नै क्याम्पसलाई पुग्छ भन्ने अतिवादि सोंचले गर्दा स्थानीय नेताहरुदेखि जिल्लाका नेताहरुले हेर्ने नजर पनि अलग हुनुले साँच्चैमा सुदुर भएको भान हुन्छ । यद्यापि तात्कालीन जिवन थापा, शालिकराम शर्मा, तारा लामा र कुलविर चौधरी लगाएतका पूर्व गा.वि.स अध्यक्षहरुले कोशिस अनि पहल पश्चात उपलब्ध गराउनु भएको जिविसको ४ लाख बजेटले नै क्याम्पस सञ्चालन सुरु गरियो । तत्पश्चात हालसम्म जि.वि.स बाट सहयोग प्राप्त छैन । यस मानेमा कि बेलौरीमा १०÷१० लाख दिने, शिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरलाई २० औं लाख दिइरहने तर यस क्याम्पसलाई सहयोगको नाममा ५० हजार ÷ १ लाख भन्दा बढी नदिएको अवस्थाले गर्दा सोचे अनुरुप प्रगति हुन सकेन । त्यति मात्र होइन आईं.बी.आर.डी.मा नवनिर्माण गरिएको क्याम्पसले पनि केही विद्यार्थी कटौति गरेको अवस्था छ । विद्यार्थी घटेको अवस्था अनि क्याम्पसको आर्थिक स्थिति को नाजुकपनाले नै हो । त्यसैले यसका लागि बिभिन्न सरकारी तथा गैरसरकारी निकायले सहयोग गर्नु पर्ने देखिन्छ र त्यसको लागि सहयोगकोे अपिल यस पत्रिका मार्फत पनि गर्न चाहन्छु ।

– तपाईंको कार्यकालमा क्याम्पसको भवनहरु त उल्लेख वृद्धि भए तर पढाइको गुणस्तर त एकदमै खस्कियो, विद्यार्थीहरु धेरै फेल मात्र भएको अवस्था छ भन्ने जन गुनासोलाई कसरी हेर्नु भएको छ ?
भवनको विषयमा त पुन दोहो¥याए मैले । ५ कट्टा २०७१ सालमा ग्रामीण आवास कम्पनिवाट जग्गा उपलब्ध गराइसकेपछि भवन निर्माण कार्य दु्रत गतिमा अगाडि बढेको छ । क्याम्पसको आफ्नै भवनहरु निर्माणाधिन अवस्थामा पनि छन् । अर्को कुरा कक्षा सञ्चालन गर्ने समय सही नभएको कारणले गर्दा विद्यार्थीको पढाईको गुणस्तर खस्केको मान्छु म यस क्याम्पसमा विवाहित चेलिवेटीको संख्या बढी हुनु, बेलुका कक्षा सञ्चालन हुदाँ २÷३ पिरियड मात्र पढेर छाड्नु पर्ने बाध्यात्मक स्थितिले नतिजा नराम्रो आएकै कुरा मनन गर्नु पर्छ । छात्रहरु कम पढ्ने, जसमा एकातिर विदेश जानका लागि भिसा लगाएर आउने अनि मन लागे पढ्ने, मन नलागे नपढ्ने स्थिति हुनु, उनीहरुको स्तर वृद्धि हुन नसक्नु वेलुकीको कक्षा सञ्चालन हुनु पनि एक हो साथै शिक्षकहरुको बेलुका थकाई मार्ने थलो जस्तो हुनु , शिक्षकहरुद्वारा भरपुर प्रयास नगरीकन अध्यापन गराउनुले गर्दा पनि यस्तो भएको छ । ‘सरकारी काम कहिले जाला घाम’ भनेकै विद्यार्थी नै नआइदिए हुन्थ्यो पढाउनु पर्थेन भन्ने जस्तो सोचहरु केही शिक्षकमा हावी हुनुले यस्तो भएको हुनसक्छ । विद्यार्थीहरुलाई नै विहानको कक्षा सञ्चालन मार्फत पढाई प्रक्रिया चालु गराई उनीहरुको स्तर वृद्धि गर्नका लागि पहल हँुदैछ ।

–स्नातक–तहका कक्षाहरु यही सञ्चालन हुने तर परीक्षा दिनका लागि लड्दै–पड्दै हिलाम्य बाटो भएर धनगढी पुग्नु पर्ने अवस्थालाई हेर्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भए जस्तो लाग्दैन ?
हामीले कोशिस गरेको हांै । वि.सं. २०७१ सालको पुर्वसन्ध्याबाट नै पहल थालिएको हो । काठमाडौं गएँ, परीक्षा नियन्त्रकलाई पनि लिएर आएँ, क्याम्पस देखाएँ । हाम्रो विद्यार्थीहरुको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीहरु अन्यन्त्र जाँदा उनीरुको कठिनाईप्रति व्याख्या विश्लेषण गराँउदै यहीं परीक्षा केन्द्र बनाउनका लागि सञ्चालक समितिले पनि पहल गरेको हो । परीक्षा केन्द्र भएपश्चात विद्यार्थीहरु पलायन नहुने, आउट फ्लो पनि रोकिने उत्तीर्ण हुनका लागि उनीहरुको मेहनत पनि बढ्ने थियो तर विद्यार्थी संख्या ३०० नभइकन परीक्षा केन्द्र दिन नसकिने कुरा बाहिर आइसकेपछि पुनः परीक्षा नियन्त्रकलाई दबाब नदिएको पनि होइन । २०० मात्र विद्यार्थी स्नातक पहिलो वर्षमा भर्ना भएपछि पनि परीक्षा केन्द्र दिन सकिन्छ भन्ने अवस्था बाहिर आयो तर पनि हामीसँग पहिलो वर्षमा भर्ना हुने विद्यार्थी संख्या जम्मा १ सय मात्र पुग्यो । जसले गर्दा हामीले परीक्षा केन्द्र सञ्चालन गर्न पाएनौं । विडम्वना हो यो पुर्नवासमा नजिकको तीर्थ हेला भने झैं धेरै विद्यार्थीहरु वाहिर जानुले हामीले हाम्रो भनेर गर्व गर्न पाएँका छैनौं । हाम्रो क्याम्पसलाई के झुपडीमा बस्नेले खाना नै खादैन र के हाम्रो पुनर्वास जनता बहुमुखी क्याम्पस, क्याम्पस होइन ? खोई विद्यार्थीहरुले बझेका ? अब विद्यार्थीहरुले बुझ्नु प¥यो ।

– क्याम्पस जस्तो पवित्र ठाउँमा राजनितिक गन्ध आइरहन्छ भन्ने जनगुनासा प्रति के भन्न चाहन्छु ?
यो त यहाँ मात्रै होइन, नेपाल देशभरिकै क्याम्पसको रोग हो भन्ने आरोप पनि हो यो । क्याम्पस भनेको जागरुक विद्यार्थीहरुको थलो हो । विद्यार्थीहरु पनि क्याम्पसमा राजनीति सिक्छन् । राजनीति क्याम्पसमा नसिकेर कँहा सिक्ने त ? राजनीति भन्दैमा गलत अर्थ लगाउनु हुँदैन र। राज्यको भाबी नयाँ खाका कोर्ने नीति नै राजनिति हो । विद्यार्थीले राजनीति बुझनै पर्छ । समाज, राष्ट्र र देशका लागि सोंच्नै पर्ने नीति हरेक विद्यार्थीका लागि अपरिहार्य हुदैछ । पार्टी नभएको शिक्षक पनि छैन र विद्यार्थी पनि छैन । अभिभावक को त झन कुरै छोडौं । तर पनि गलत व्याख्या गर्ने प्रवृतिले गर्दा राजनीतिको अर्थ नजान्ने विद्यार्थीहरुलाई समस्या परकै हुन्छ । विकासका लागि राजनीति आवश्यक छ । त्यसको विकृति बढनु हुँदैन । कृति अनुसार विद्यार्थीले राजनीति बुझ्दैमा गन्ध आयो भन्नु उचित नहोला ।

–चाहे जे होस् निकट भविष्यमा विज्ञान संकाय खोलेर यहाँका विद्यार्थीहरुको गुणस्तर वृद्धि गर्छु भन्ने दृढ संकल्प लिनु भएको छ रे नि ! के यो साँचो हो ?
यसको लागि +२ मा साइन्स भएको होस् म चाहन्छु । उ.मा.वि.मा हरेक एक विद्यालयले अलग–अलग विद्यामा कक्षा सञ्चालन गरेको होस् । + २ ले साइन्स सञ्चालन गर्न सकेको खण्डमा यो कार्यक्रम भविष्यमा सरकारी स्तरबाट महत्वपूर्ण कदम चाल्ने प्रतिवद्धता गर्न चाहन्छु । विद्यार्थीहरको सहभागिता व्यापक भएको होस् म चाहन्छु । विद्यार्थीहरुको दृढ संकल्प नै मेरो संकल्प हो । मलाई सहयोगी हात चाहियो नि त । पढ्न काठमाडौं पढाउने अनि यहाँ साइन्स पढाई होस् भन्ने अभिभावकको अगाडि म के गर्न सक्छु त ?

– यस क्याम्पसका लागि जोड्दार परिश्रम गर्दै–गर्दा भएका तीता–मीठा अनुभवलाई कसरी सम्झन चाहनु हुन्छ ?
कामगर्दा कसैले राम्रो कसैले नराम्रो भन्ने त हाम्रो समाजको नीति नै हो । यो पनि राजनीति जस्तै छ के । ९९ गोल हानेको मान्छेले अन्तमा सयौं गोल गर्न सकेन भने त्यही मान्छेको कुरा काट्ने प्रवृति हामीबीचमा छदैछ । गाली गर्दैमा हतोत्साही हुने र फुरक्र्याउदैमा फर्किने मान्छे म होइन । काम गर्ने मान्छेका नै आलोचना हुन्छन् । यो धु्रवसत्य कुरा हो । तीतो भन्दा पनि म त मीठो अनुभव नै मान्छु । कारण सबैको नजरमा नराम्रो पनि हुदैन र सबैको नजरमा राम्रो पनि बन्न सकिदैन । केही गर्ने सोंच ममा अद्यापि हावी छ । अव सामान्य कुराहरु त भई नै रहन्छन् । आगो पनि नठोस बल्दैन । हैन र ?

– मेहनत नगर्ने तर अन्तिममा क्याम्पसमाथि शिक्षकहरुमाथि दोष थोपर्ने गैरजिम्मेवार विद्यार्थीहहरुप्रति के सुझाव दिन चाहनुहुन्छ ?
यो विद्यार्थीहरु आफैले बुझने कुरा हो । उनीहरु स्वयं घर, समाज राष्ट्रको जिम्मेवार बोक्ने महारथी हुन् । अव स्नातक तहको विद्यार्थी स्वयं आफै शिक्षक सरह हुन्छ । पढाउने शिक्षक र पढ्ने विद्यार्थीमा कति नै फरक छ र ? ज्ञानमा पनि त उनीहहरु आफै जान्ने छन् । अव “मुतिसक्यो दैलो देख्यो” गर्ने बानीको विकास उनीहरु आफैले गरे भने उनीहरुलाई नै भविष्यमा कष्ट हुनेछ । “अर्काको आङ्गमा जुम्रा देख्ने आफ्नो आङको भैसी नदेख्ने” प्रवृति भइहाल्यो नि त्यो त । गर या मर भन्ने सिद्धान्त विद्यार्थीले बुझेको हुनुप¥यो र बुझेका पनि छन् । केही विद्यार्थीहरु त्यस्तै गर्छन भने त्यो उनीहरुका लागि घातक शिद्ध हुन्छ । ध्वंसात्मक प्रवृतिलाई त्यागेर रचनात्मक प्रवृत्तिमा अग्रसर हुनुप¥यो भन्न चाहन्छु । ती विद्यार्थी, भाइबहिनीहहरु नियमित कक्षा आउ, चित्त बुझेन यो शिक्षक मन परेन भन तर आफू मेहनेत गर्न सिक । मेहनतको फल सदैब मीठो हुन्छ भन्न चाहन्छु ।

– तपाइको समयको लागि हार्दिक आभार एवं आगामी योजनाहरुको लागि तपाईलाई ‘हेल्लो पुनर्वास’ को हार्दिक शुभ–कामना । अन्त्यमा तपाई केही भन्न चाहनु हुन्छ ?
यहाँ पढाई राम्रो हुन्छ । पढाइ गर्नका लागि काठमाडौंमै हावा खानु पर्छ भन्ने छैन । आखिर यहिबाट गएका तारा ढकाल जस्ता साइन्टिस्ट बनेका विद्यार्थी पनि यही पढेर त गए । भने विद्यार्थीहरुको आवश्यकता यसले पनि वहन गर्न सक्छ । बरु कुन विषय राम्रो पढाइ भएन त्यो भन्नुहोस । हामी सच्याउन चाहन्छौं । सम्पूर्ण अभिभावकहरुले माया गरेर त देखाउनुहोस् तब हाम्रो क्याम्पसको स्तर थाहा हुन्छ । “पितृलाई खाट” भन्ने उखान नदोहो¥याउन हुन आग्रह गर्न चाहन्छु । हाम्रो क्याम्पस राम्रो क्याम्पस बनाउनका लागि बिना अभिभावक सम्भव छैन । ‘नजिकको तीर्थ हेला’ फेरि पनि नगरिएको होस् । क्याम्पसको भविष्य तपाईंहरुकै हातमा छ भन्न चाहन्छु । ‘मुखमा रामराम बगलीमा छुरा’ नगरीकन विद्यार्थी पठाउनुहोस् अनि आफ्नो क्षेत्रको क्याम्पस कसरी उन्नतिको चुचुरोमा पुग्छ । त्यो तपाईहरु दुई वर्ष भित्र एमएड सुरु भएपश्चात देख्नु हुनेछ । ह्वस्त धन्यवाद ।

थप सम्बन्धित समाचार
Follow
Us